जनता टाइम्स

२९ फाल्गुन २०७७, शनिबार २०:४२

अनुशासनमा नबस्नेहरु अव एमालेमा रहन सक्दैनन : भानुभक्त ढकाल


काठमाडौं, फागुन २९ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले च्यूत भएका र मनले एमाले नभएकालाई समेत उदारतापूर्वक आगामी केन्द्रीय कमिटी बैठकमा बोलाइएको प्रष्ट पार्नुभएको छ ।

वीरेन्द्रनगरमा आज आयोजित एमालेका अगुवा नेता–कार्यकर्ता भेलामा ढकालले शुक्रबार बसेको वैठकले माओवादी केन्द्रबाट आएका इमान्दार नेता कार्यकर्तालाई जिम्मेवारी दिइएको र मन माओवादीमा रहेका तर एमालेमा शरीरमात्र लिएर आएकालाई केही नगरिएको जानकारी दिनुभएको हो ।

‘हिजोको बैठकबाट हामीले विधान संशोधन गरेका छौं । महाधिवेशन आयोजक कमिटी बनेको खण्डमा अध्यक्ष र महासचिव मात्रै राख्ने व्यवस्था गरेका छौं । एमाले सम्झिरहनेहरुको पद केही गरेका छैनौं,’ ढकालले भन्नुभयो, ‘एमाले च्यूत भएका, मनमा एमाले भएका र सर्वोच्च अदालतले एमाले बनाइदिएका सबैलाई बोलाएका छौं । उहाँहरु पनि चैत ७ गतेको बैठकमा भाग लिन आउनुहुन्छ भन्ने आशा राखेका छौं ।’

नेता ढकालले माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ज्वरो आएको र चैत सातमा ज्वरो सेलाएपछि पार्टी वैठकमा आउने र पार्टी काममा लाग्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीलाई कोही मान्छे गइदिए हुन्थ्यो भन्ने कामना छैन । जहाँसम्म मान्छेले रिस उठेको बेला समानान्तर कमिटी गठन गर्छु, यो गर्छु भनेर ज्वरो आएको बेला खोकी लागे जसरी बर्बराइरहेका छन । त्यसको अहिले एक खालको स्वतन्त्रता दिइएको छ । एमालेमा रहने हो भने अनुशासनमा बस्नुपर्छ । हिजोको जसरी एमाले चल्दैन । अब पार्टी फर्ममा चल्छ । म यो गर्न दिन्नँ भनेर भन्न दिइने अवस्था छैन,’ मन्त्री ढकालले भन्नुभयो ।