जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १५:११

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने


मुस्ताङ, जेठ २४

मुस्ताङको जोमसोम विमानस्थल भोलीदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिने नागरिक उड्डयन कार्यालय जोमसोमले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भन्नुभयो, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।”

जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उहाँको भनाइ छ । विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । २० वर्षअघि गरिएको तीन सेन्टिमिटर कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको उहाँले बताउनुभयो ।

एपेक्स निर्माण कम्पनीले रु नौ करोडमा विमानस्थल स्तरोन्नतिका लागि गत असोजमा सम्झौता गरी काम शुरु गरेको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएकोले असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताउनुभयो । पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् ।

मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ ।