जनता टाइम्स

२ चैत्र २०७७, सोमबार १८:३७

माधवलाई एमालेको भन्दा प्रचण्डकै चिन्ता बढी : अध्यक्ष ओलीसँगको पहिलो बार्तामै यसरी खुल्यो पोल


काठमाडौं, चैत २ । सत्तारुढ नेकपा एमालेमा बरिष्ठ नेता माधवकुमार नेपालले फेरि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्नुपर्ने विचार अगाडि सारेको छ । अध्यक्ष केपी शर्मा ओलीसँग आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संस्थापन पक्षसँग गरेको छलफलमा माधवले सो विचार अगाडि सार्नुभएको हो ।

आजको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै माधव पक्षका नेता भीम रावलले माओवादी केन्द्रसँग एकता गर्नुपर्ने आफूहरुको प्रस्ताव रहेको जानकारी दिनुभयो । ‘हामी वाम एकताको पक्षमा पहिले पनि थियौं र अहिले पनि छौं, नेकपालाई नै एकतावद्ध बनाएर अगाडि बढ्नुपर्छ भन्ने स्पष्ट गर्यौं,’ रावलले भन्नुभयो । प्रचण्डको निर्देशनअनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्ने अभियानमा लाग्दा आफै खाल्डोमा पर्नुभएका नेपालले फेरि प्रचण्डसँग मिलेर ओलीमाथि बदला लिनका लागि यस्तो प्रस्ताव गर्नुभएको हो ।

नेकपा एमालेले निर्वाचन आयोगले दिएको १५ दिनको समयमा माओवादीसँगको एकता संभव नभएको निश्कर्ष निकालिसकेको छ । माधव पक्षले माओवादीसँगको एकता नगर्ने अवस्थामा २०७५ जेठ २ गतेको अवस्थामा पार्टी संरचना हुनुपर्ने दोस्रो अडान राखेको छ । सो समुहको यो प्रस्ताव प्रचण्डलाई त्यागेर नीति र नेतृत्वप्रति दृढतापुवर्क उभिनुभएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायत माओवादीबाट एमालेमै रहने घोषणा गर्नुभएका नेताहरुलाई उतै पठाउने प्रचण्डको योजनाअनुसार रहेको तथ्य खुलिसकेको छ ।

माधव नेपाल समुहले चैत ४ गते राखेको भेला स्थगित गर्न पार्टी संस्थापनसँग सर्त राखेको जानकारी पनि नेता रावलले दिनुभयो । उहाँका अनुसार संस्थापन पक्षले एमाले पुनःस्थापित भएपछि गरेका निर्णयहरु फिर्ता गरेमा चैत ४ को भेला स्थगित गरिने छ । चैत ७ गते बस्ने एमाले केन्द्रीय समितिको बैठकमा पनि आफूहरु नजाने रावलले बताउनुभयो । संस्थापन पक्षले फागुन २८ गते गरेको कुनै पनि निर्णय नमान्ने अडान छलफलमा राखेको पनि उहाँले बताउनुभयो । माधव समुहले एमालेमै बसेर प्रचण्डको सेवा गर्ने भरपुर अवसर नपाउँदासम्म बैठकमा नजाने नीति लिएको रावलको भनाईले प्रष्ट पारेको छ ।

‘फागुन २३ गते सर्वाेच्चको फैसलापछि गरेका सबै निर्णय शुन्य हुनुपर्छ । खासगरी २८ गते हामीलाई खबर नगरी, बहुमत सदस्यलाई उपस्थित नगराई निर्णय गरिएको छ । त्यो पनि फिर्ता हुनुपर्छ । उहाँहरुले हाम्रा कुरा मान्नुभएन,’ बैठकपछि रावलले भन्नुभयो । बैठकमा सहभागी अर्का नेता सुरेन्द्र पाण्डेले पनि माओवादीतर्फका नेताहरुलाई नलखेटदासम्म एमाले बैठकमा नजाने आफूहरुको प्रष्ट नीति रहेको तथ्य खोल्नुभयो ।

‘अदालते हामीलाई पार्टी एकता भन्दा अगाडिको अवस्थामा ल्याएको छ । त्यहिँ बिन्दुबाट प्रारम्भ गर्नुपर्छ भन्ने हाम्रो कुरा थियो । त्यो कुरा उहाँहरुले मान्नुभएन । कुरा मिलेन,’ पाण्डेले भन्नुभयो । प्रचण्डले बादलसहितका माओवादी नेताहरुलाई बैठकमा जानबाटै रोकेर अपमानित गर्न सकेको अवस्थामा मात्रै बैठकमा जान माधवलाई भनिसक्नु भएको छ । प्रचण्डको सोही निर्देशन पालना गर्दै नेता नेपालले आजको छलफलमा प्रतिगामी प्रस्ताव राख्नुभएको हो ।