जनता टाइम्स

२ चैत्र २०७७, सोमबार २०:१५

माधवलाई अध्यक्ष ओलीको बटमलाइन : गल्ती रियलाइजेशन गर्नाेस, सबै कुरा कोट्याएर जान चाहान्न


काठमाडौं, चैत २ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहितका सवै नेताले प्रचण्डसँग मिलेर गरिएको गम्भीर गल्तीप्रति आत्मआलोचना गरेर अघि बढे आफू सवैकुरा भुल्न तयार रहेको प्रष्ट पार्नुभएको छ ।

सर्वाेच्च अदालतले नेकपालाई खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूँताएपछि आज बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुसँगको छलफलमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । प्रतिनिधिसभा बिघटनपछि ओलीबिरुद्ध सीमा नाघेर आमाचकारीमा लाग्नुभएका बरिष्ठ नेता नेपाल र अध्यक्ष ओलीसहितका नेताबीच आज पहिलो पटक बार्ता भएको हो । बार्तामा ओलीले आफूबिरुद्ध गरेको षडयन्त्र र आक्रमण क्ष्यम्य नभए पनि आफू बिगतको सवै कुरा भुल्न तयार रहेको प्रष्ट पार्नुभएको छ ।

वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राख्नुभएको छ । वार्तामा सहभागी नेताले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार अध्यक्ष ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव समुहले सकेजति सबै ज्यादती गरेको भएपनि अब बिगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताउनु भयो ।

‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो र ? एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले मलाई केही पनि बाँकी राख्नुभएन । तपाईहरु त मलाई सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न,’ माधवको अनुहार हेर्दै अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफूलाई सकाएरै छाडने मिसन चलाएको तथ्य पनि राख्नुभएको थियो । आफ्नै अध्यक्षलाई चार–चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको उहाँको भनाई थियो ।

वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको प्रष्ट पार्नुभएको छ । ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन । हिजो जे काम गरियो, गलत गरियो, गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै नेम्वाङले भन्नुभयो ।

सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरूबीच आजबाट औपचारिक रूपमा संवाद सुरु भएको छ । तर नेपाल एमालेमा बसेर प्रचण्डको सेवा गर्ने दृढ अठोट बोकेर आएजस्तो देखिएको छ ।