जनता टाइम्स

३ चैत्र २०७७, मंगलवार १७:२९

कांग्रेसमा निर्वाचनको माग : प्रतिनिधिसभा काम गर्न नसक्ने अवस्थामा पुगेको निचोड


काठमाडौं, चैत्र ४

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वर्तमान प्रतिनिधिसभा काम गर्न सक्ने अवस्थामा नपुगेको ठहर गरेको छ । सत्ताको नेतृत्वका लागि पटक पटक अन्य दलबाट प्रस्ताव आईरहेको कांग्रेसले भने प्रतिनिधिसभा काम गर्न सक्ने अवस्थामा नरहेकाले चासो दिन छाडेको हो ।

कांग्रेसले संसद भित्र दलहरुको उपस्थिति कम्युनिष्ट पार्टीभित्र देखिएको किचलोका कारण अब नयाँ जनादेश नै उपयुक्त विकल्प रहेको निष्कर्षतर्फ अग्रसर हुन थालेको छ । नेपाली कांग्रेस त्यसमाथी त्यसका सभापति शेरबहादुर देउवा राजनीतिका चतुर खेलाडी हुन् । तर, उहाले अहिलेको अवस्थाका बारेमा थाहा पाएर नै पटक पटक प्रधानमन्त्री बन्न संसदको तेस्रो र चौथो दलले आग्रह गर्दा पनि अग्रसर भएको छैन ।

कांग्रेसको संस्थापन पक्ष अब निर्वाचनमा जानुपर्ने वातावरण बनाउन थालेको छ । त्यसलाई पार्टीले चाँडै नै आधिकारिक धारणा बनाएर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कांग्रेसको संस्थापन पक्षका नेता रमेश लेखक प्रतिनिधिसभा विघटनपछि भएको घोषणाअनुरुप नै चुनाव हुन पाएको भए सबैभन्दा उत्तम निकास हुने भन्दै अब पनि निर्वाचनको विकल्प नभएको बताउनु हुन्छ ।

प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्नेतर्फ घटनाहरु भईरहेको बताउन थाल्नु भएको छ । उहाले यसअघि कै मितिमा निर्वाचन भएको भए मुलुकले चाँडै निकास पाउने थियो भनेर बताईरहनु भएको छ । तर, सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्र भने अझै पनि न सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ न त नयाँ सरकार बनाउन अंक गणित नै पु¥याउन सकेको छ । कांग्रेस पछाडी हट्ने वित्तिकै नयाँ सरकार बन्ने अवस्था शुन्य हुनेछ । विकल्पमा वर्तमान सरकारको निरन्तरता वा नयाँ निर्वाचनतर्फ मुलुक भन्ने मात्र देखिन थालेको छ ।