जनता टाइम्स

३ चैत्र २०७७, मंगलवार १८:४५

प्रचण्डले अस्वीकार गरे माधवको बिन्ती


काठमाडौं, चैत ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफ्नै कार्यकर्ता माधवकुमार नेपालको बिन्ती अस्वीकार गर्नुभएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज आयोजना गर्नुभएको संसदमा प्रतिनिधित्व रहेका दलहरुको सर्वदलीय बैठक बहिष्कार गर्न नेता नेपालले गर्नुभएको बिन्तीलाई प्रचण्डले अस्वीकार गर्नुभएको हो ।

आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हटाउने भारतको मिसनमा लाग्नुभएका नेता नेपाल अहिले पनि एमालेमा बखेडा झिक्दै एमाले कार्यकर्ता माओवादीतिर पठाउने अभियानमा हुनुहुन्छ । सोही अभियानमा असर पर्ने भन्दै नेता नेपालले भीम रावलसहितका केही नेतालाई भेटनै पठाएर राष्ट्रपतिले बोलाएको बैठक बहिष्कार गर्न बिन्ती बिसाउनु भएको थियो भने आफैले पनि टेलिफोनमार्फत राष्ट्रपतिले बोलाएको बैठक बहिष्कारका लागि अनुनय बिनय गर्नुभएको थियो । तर प्रचण्डले आफू राष्ट्रपतिले बोलाएको बैठक बहिष्कार गर्न नसक्ने भन्दै सवैभन्दा पहिला शीतलनिवास पुग्नुभएको थियो ।

‘माधव कमरेडले प्रचण्डलाई शीतलनिवास नजान पटक पटक आग्रह गर्नुभएको थियो, तर एमालेभित्रको बिवादमा आफू नपर्ने भन्दै जानुभएको हो,’ प्रचण्ड निकट एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्डले राष्ट्रप्रमुखले दलका प्रमुख नेतालाई बोलाएपछि जानै पर्ने भएको जवाफ दिनुभएको थियो । माधव नेपाल र झलनाथ खनालसहितका नेताहरुले प्रचण्डलाई समेत उपस्थित गराएर गत चैत बैशाखमा महाअभियोग लगाउने बिषयमा कानून ब्यवसायीसँग गोप्य छलफल गर्नुभएको थियो । गोप्य छलफलको समाचार बाहिरिएपछि प्रचण्डसहित तीनै जना नेता शीतलनिवास पुगेर आफूहरुले त्यस्तो काम नगरेको प्रष्टिकरण दिएपनि अभियान भने जारी राख्नुभएको थियो ।

पुस ५ गते प्रतिनिधिसभा बिघटन भएपछि सो समुहले राष्ट्रपति भण्डारीबिरुद्ध आपत्तिजनक आक्षेपसमेत लगाएको थियो । अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि संसदमा प्रतिनिधित्व गर्ने चार ठूला दल र पूर्वप्रधानमन्त्रीलाई राष्ट्रपतिले बोलाउनु भएको हो । तर माधव र झलनाथ खनाल सो बैठकमा जानुभएन । माधव–झलनाथ अनुपस्थित भएपनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उपेन्द्र यादव र राजेन्द्र महतो उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी एमाले नेताहरु रामबहादुर थापा, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, कांग्रेस नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङको उपस्थित हुनुहुन्थ्यो । यसैगरी मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको पनि उपस्थिति रहेको थियो ।