जनता टाइम्स

३ चैत्र २०७७, मंगलवार १९:०३

दलका नेतालाई राष्ट्रपतिको तीन सुझाव


काठमाडौं, चैत ३ । राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यमा जोड दिँदै तीन सुझाव दिनुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई शीतलनिवास बोलाएर आज आयोजना गरिएको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले आफ्ना तीन सुझाव दिनुभएको हो ।

बैठकमा राष्ट्रपति भण्डारीले हाम्रो मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो । नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै उहाँले सबै दलका नेताहरूलाई धन्यवाद दिनुभयो ।

यसैगरी उहाँले कोभिड–१९ को महामारीका कारणमुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेकोप्रतिकूल प्रभावका बारेमा चर्चा गर्नुका साथै यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पु¥याएको योगदानका लागि पनि धन्यवाद दिनुभयो । राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई सुझाव पनि दिनुभयो ।

बैठकमा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेखमुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी गराउनु भएको थियो ।