जर्जिया, चैत्र ४
अमेरिकाको जर्जिया राज्यमा भएको अन्धाधुन्ध गोली काण्डमा ६ एसियन महिलासहित ८ जनाको मृत्यु भएको छ । जर्जियाका तीन स्पामा भएको गोलीकाण्डमा कम्तीमा ६ जना एसियन महिलासहित ८ जनाको ज्यान गएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
एट्लान्टाको उत्तरी क्षेत्रमा पर्ने एक्वार्थको मसाज पार्लरमा चारजनाको गोलीहानी हत्या भएको प्रहरीले जनाएको छ । २१ वर्षका युवक पक्राउ परेको र उनी तीनै आक्रमणका संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
पहिलो गोलीकाण्ड भएको थियो अक्वर्थ मसाज पार्लरमा । त्यहाँ मारिनेमा दुई एसियन महिला, एक श्वेत महिला र एक श्वेत पुरुष छन् । एक हिस्प्यानिक पुरुष घाइते भएका छन् । त्यसको एक घण्टा पछि उत्तर–पूर्वी एट्लान्टमा रहेको गोल्ड स्पामा गोली लागेर तीन महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै नजिकैको अर्को स्पामा भएको गोलीकाण्डमा थप एक महिलाको ज्यान गएको हो । चारैजना महिला एसियन रहेको एट्लान्टा जर्नल–कन्स्टिच्युसनले उल्लेख गरेको छ ।
मंगलबार बेलुका करिव ५ बजेतिर भएको आक्रमणको कारण वा उद्देश्य खुलेको छैन । तर पछिल्ला महिनाहरुमा अमेरिकामा एसियन–अमेरिकनहरुमाथिको हिंसा बढ्दै गएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिनुमा एसियनहरुको भूमिका रहेको गलत सूचना फैलाइएपछि हिंसाका घटना बढेका छन् । गएको हप्ता राष्ट्रका नाममा गरेको सम्बोधनमा राष्ट्रपति जो बाइडेनले एसियन–अमेरिकन माथि हुने गरेका आक्रमण तथा हिंसाको निन्दा गरेका थिए । उनले एसियन–अमेरिकनमाथि हुने दुर्व्यवहारले चिन्तित बनाएको बताएका थिए । ।













प्रतिक्रिया दिनुहोस्