जनता टाइम्स

५ चैत्र २०७७, बिहीबार १८:२९

१८ स्थानमा रहेको बाल हेल्पलाइन १०९८ को सेवा प्रभावकारी बन्दै


काठमाडौं, चैत ५

बाल हेल्पलाइन १०९८ (दश नौ आठ) को सेवा देशका १८ स्थानमा सञ्चालन भएको छ । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले बाल हेल्पलाइन १०९८ सञ्चालनको चालु आर्थिक वर्षको पहिलो ८ महिनामा हिंसा दुव्र्यवहार तथा शोषणमा परेका बालबालिकाहरु ४५० जनालाई उद्दार गरी संरक्षण, राहत तथा पुनःस्थापना सहायता प्रदान गरिएको परिषद्ले जनाएको छ । जोखिममा परेका बालबालिकालाई मनोविमर्श परामर्श, उद्वार, राहत, परिवारमा पुर्नस्थापना, पुर्नमिलन र आपत्तकालिन गृह सहयोग गर्न बाल हेल्पलाइन १०९८ लागु हुन्छ ।

बाल हेल्पलाइन कार्यान्वयनमा आएपछि घर–परिवार, साथी र छरछिमेकबाट हुने विभिन्न प्रकारका हिंसामा परेका बालबालिकाहरूको उद्धार गर्नेदेखि न्याय दिलाउने प्रभावकारी माध्यम बन्दै गएको छ । समस्यामा परेका बालबालिकाले १०९८ मा फोन गरेर न्याय र सेवा पाउने माध्यमका रूपमा बाल हेल्पलाइनलाई रोज्ने गरेका छन् । चौबिसै घण्टा खुला रहने १०९८ नम्बरको बाल हेल्पलाइन पीडामा परेका बालबालिकालाई नै सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको निःशुल्क टेलिफोन हो ।

त्यस्तै सहयोगको आवश्यकता भएको ५ हजार २ सय २२ जना बालबालिकालाई बाल संरक्षण सम्बन्धी सहायताहरु प्रदान गरिएको परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘आर्थिक वर्ष ०७६÷७७ मा सञ्चालित १२ वटा हेल्पलाइन केन्द्रहरुबाट जोखिमपूर्ण अवस्थामा रहेका १ हजार ४ सय २० जना बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको थियो भने सहयोगको आवश्यकता भएका ८ हजार ७ सय ४४ जनालाई सहयोग प्रदान गरेको थियो ।’

त्यस्तै उहाँले बालबालिका खोजतलास १०४ सेवामा पनि हराएका, बेवारिसे फेला परेका, ओसार पसार तथा बेचबिखनमा परेका, सडक बालबालिको उद्धार संरक्षण तथा व्यवस्थापनका लागि मनाङबाहेक ७६ जिल्लामा नै सेवा भएको बताउनुभयो । उहाँले यस आर्थिक वर्षको माघ मसान्तसम्ममा हराएर दर्ता भएका कूल १ हजार ९ सय ८८ बालबालिकामध्ये ९ सय ९३ जनाको खोजी गरी परिवारमा पुनर्मिलन गरिएको, बेवारिसे फेला परेका ९७ जनामध्ये ४५ जनलाई पुनर्मिलन गरिएको, ५२ जनालाई अस्थायी संरक्षण सेवामा राखिएको र ३१ जनाको कानूनी पहिचाको व्यवस्थासहित दिर्घकालिन संरक्षण व्यवस्थापन गरिएको सुनाउनुभयो ।