जनता टाइम्स

७ चैत्र २०७७, शनिबार ०८:५१

बलात्कार मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने वकिल पक्राउ


पोखरा, चैत ७ । बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पैसा असुल्ने एक जना कानून ब्यवसायी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार ५८ वर्षीय अधिवक्ता लक्ष्मीबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।

लमजुङ दोर्दी गाउँपालिका ३ स्थायी घर भएका घिमिरे पुरानो कानुन व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभयो । घिमिरेले जबर्जस्ती करणी आरोप पक्राउ परेका आरोपीसँग मुद्दा मिलाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको पाइएकाले पक्राउ गरिएको डिएसपी हमालले बताउनु भयो ।

‘सुरुमा पीडकसँग एक करोड रूपैयाँ माग गरेका रहेछन् । पछि बार्गेनिङ चल्दै जाँदा १५ लाखमा कुरा मिलेको रहेछ,’ हमालले भन्नुभयो, ‘त्योमध्ये एक लाख १० हजार रुपैयाँ क्यास लिइसकेको रैछ । बाँकी १२ लाखको चेक लिँदा लिँदै राष्ट्र बैंक चोकमा प्रतिनिधि समायौं ।’

प्रहरीले फागुन १९ गते राष्ट्र बैंक चोकबाट बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडक परिवारसँग चेक बुझिरहेकोबेला २ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले उनीहरूबाट उनीहरूबाट कामना सेवा विकास बैंकको ६र६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको थियो ।

‘पहिले पक्राउ परेका २ जनालाई ठगी मुद्दामात्रै थियो । तर, अहिले आएको नयाँ अध्यादेश अनुसार बलात्कारजन्य घटनामा मेलमिलाप गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बलात्कारका मतियार ठहरिएका छन्,’ हमालले भन्नुभयो, ‘घिमिरेलाई त्यही अनुसार कानुनी कारबाही हुन्छ ।’ पोखराकै एक युवतीलाई पटकपटक बलात्कार गरेको आरोपमा ६ महिनादेखि फरार अभियुक्त करिब २० दिनअघि पक्राउ परेका थिए ।