जनता टाइम्स

७ चैत्र २०७७, शनिबार १२:४१

एमालेको झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना नदेख्न अध्यक्ष ओलीको चेतावनी


काठमाडौं, चैत्र ७

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले फर्केको हो भने त्यो सपना नदेख्न नेपाल समुहलाई चेतावनी दिनु भएको हो ।

‘बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन् । बुटवल र सिन्धुलीबाट सबै कुरा छ्याङै पारे। मलाई त अध्यक्ष र पार्टी सदस्यबाट हटाए, धन्न नागरिकता खोसेनन् मेरो । उनीहरुले पार्टी र झण्डा चुनाव चिन्ह कब्जा गर्न खोजेका थिए । केपी ओली भएसम्म त्यो सपना नदेखे हुन्छ’, ओलीको भनाई थियो ।

माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भन्दै त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने जानकारी गराउनु भयो । सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताउदै नत्र कारवाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले प्रष्ट पारेको एक सांसदले जानकारी दिनुभयो ।