जनता टाइम्स

७ चैत्र २०७७, शनिबार १९:५५

यसकारण एमालेले सोध्यो माधव नेपालसँग स्पष्टिकरण


काठमाडौं, चैत्र ७

नेकपा एमालेले प्रचण्डको निर्देशनमा पार्टी फुटाउने गतिविधिमा लागेका माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले नेपालसँगै भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

किन स्पष्टिकरण सोध्ने निर्णय गर्नुभयो त ?

प्रवक्ता ज्ञवाली : यो आन्दोलन भित्रैदेखी कमजोर गर्नका लागि गुटगत क्रियाकलापमा लाग्नुभयो, विभाजनकारी गतिविधिहरुमा लाग्नुभयो । नेतृत्वलाई विस्थापित गर्ने काममा लाग्नुभयो । आन्दोलनलाई जनताका माझमा बदनाम गर्ने, आन्दोलनप्रति अनआस्था र वितृष्णा पैदा गर्ने काममा लाग्नुभयो । त्यो विषयलाई पार्टीले अत्यन्त गम्भिरतापूर्वक लिएको छ । यसलाई गम्भिरतापूर्वक आत्मसमिक्षा गरेर आउने साथीहरुका लागि पार्टीमा स्वागत छ । पार्टीले उहाहरुलाई आउनका लागि आव्हान समेत गरेको छ । फागुन २३ गतेअघिसम्मको गतिविधिमा एक ढंगले हेर्न सकिएला । तर, त्यसपछि पनि लगातार गुटबन्दी गरिरहने कुरालाई कदापी पनि क्षम्य मान्न सकिदैन । क्षमा गर्न सकिदैन ।

पार्टीको स्पष्ट निर्देशनमा त्यो ढंगको भेला नगर्नुस्, पार्टीको नाममा त्यस्तो भेला गर्न पाइदैन भन्ने स्पष्ट निर्देशन हुँदा हुदैपनि नेकपा एमालेकै ब्यानरमा नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला भनेर जुन ढंगको भेला गरियो, अत्यन्त गम्भिर र अनुशासन विपरितको विषय भएकाले यस्तो गुटगत क्रियाकलापमा मुख्यतय जिम्मेवार रहनु भएका माधवकुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषालसँग स्पष्टिकरण माग्ने निर्णय समेत गरेको छ ।