जनता टाइम्स

८ चैत्र २०७७, आईतवार १३:५२

माधवले दिए प्रचण्डकै कठपुतली रहेको प्रमाण


काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै योजनाअनुसार माधवकुमार नेपालले काम गरिरहेको भन्दै एमाले सकाउने मिसन माधवबाटै पूरा हुने निश्कर्ष निकाल्नुभएको छ । लामो समय माधव नेपालसँग सहकार्य गर्दै अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक आक्षेप लगाउनु भएका प्रचण्डले पछिल्लो समय एमालेमा बबण्डर मच्चाउनकै लागिम ाधव समुहलाई पठाएको तथ्य खोलिसक्नु भएको छ ।

‘केपी ओलीलाई १९ पेजको दस्ताबेजको बम हानेपछि लडाईं सुरु भयो, अहिले महामारी चलिरहेको छ,’ माधवको कामबारे ब्याख्या गर्दै प्रचण्डले केही दिनअघि सिन्धुलीमा भन्नुभयो । तत्कालीन नेकपाको बैठकमा प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १९ पेज लामो अभियोगपत्र पेश गरेपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजन भयो । नेकपा विभाजनको लागि प्रचण्डले एमालेभित्रका माधव नेपाल लगायतको सहारा लिनुभयो । प्रचण्डको जालमा परेर माधव नेपाल लगायतका आफ्नै अध्यक्ष ओलीविरुद्ध लाग्नुभयो ।

उहाँहरुको षडयन्त्र बुझेर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिदिनुभयो । त्यसपछि उहाँको विरुद्ध सडक आन्दोलनसम्म भयोे । अन्ततः अदालतले संसद् पुनःस्थापित गरिदियो । यसले प्रचण्ड र माधव नेपालको लगनगाँठो अझ कसियो । एमाले फुटाऊ र राज गरको नीति लिनुभएका प्रचण्डको एमाले फुटाउने षडयन्त्र अन्ततः सफल भयो । माधव नेपाल, झलनाथ खनाल लगायतका नेता प्रचण्डको पछि लाग्नु भयो ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग अलग पार्टी बनाएर नेकपा विघटन गरिदिएपछि प्राविधिक रुपमा माधव नेपालहरु माओवादी केन्द्रमा बस्ने अवस्था रहेन । सो पार्टीमा बस्दा उहाँहरुको सांसद् पद जाने भयो । अहिले उहाँहरु आफ्नो सांसद् पद जोगाउनको लागि एमालेको झण्डा बोकेर सडकमा निस्किनु भएको छ ।

पार्टीमा फर्किएको बताए पनि माधव नेपालहरु प्रचण्डकै प्रत्यक्ष निर्देशनमा एमालेभित्र वितण्डा मच्चाउँदै हुनुहुन्छ भन्ने तथ्य स्वयं प्रचण्डकै भनाईले उजागर गरिसकेको छ । पछिल्लो समय माधवले प्रचण्डकै निर्दशनमा राष्ट्रिय भेला गर्नुका साथै महिला र युवा संघमा समानान्तर कमिटी गठन गरेको घोषणा गर्नुभएको छ । माधवको यो कामलाई प्रचण्डले उच्च प्रसंशा गर्दै थप बिभाजनको रेखा कोर्न र एमालेमा जनताको आकर्षण घटाउने काममा यसैगरी निरन्तर लाग्न निर्देशन दिनुभएको छ । एमाले नेतृत्वको बिरुद्ध अभियान चाल्ने तर प्रचण्डको निर्देशन मानिरहने माधवको नीति रहेको तथ्य बाहिर आइसकेको छ । त्यही भएर माधव समुहमा रहेका इमान्दार नेताहरु धमाधम नेतृत्वप्रति बिश्वास छ भन्दै फर्कन थाल्नुभएको छ ।

शनिवार मात्रै नेतृत्वलाई सघाउने घोषणा गर्नुभएका सांसद कृष्णभक्त पोखरेलले माधवले पार्टी बिभाजनको योजना बनाएको खुलासा गरिदिनु भएको छ । माधवको पार्टी बिभाजनको योजना थाह पाएपछि साथ छाडेको सांसद पोखरेलको घोषणाबाटै माधव प्रचण्डको निर्देशनमा चलेको प्रष्ट पारेको छ । पछिल्लो समय माधव समुह एमालेको झण्डा मुनि बसेर एमाले फुटाउन लागेको छ भने प्रचण्ड झण्डा बाहिर बसेर एमाले फुटाउन लाग्नुभएको छ । प्रचण्डको केही दिनयताका भनाईले यो तथ्यलाई पुष्टि गर्छ । माधव समुह अहिले पार्टीभित्र खुल्ला रुपमा गुट चलाएर हिँडेको छ । पार्टी निर्देशन विपरित सो गुटले आफ्नो गुटको दुई दिने राष्ट्रिय भेला सकेको छ । त्यस्तै महिला र युवाको गुट भेला गरेको छ भने एमालेका अन्य जनवर्गीय संगठनको समेत गुट भेला गर्दै छ ।

‘नेपाल कमरेडहरु त गुटको भेला गर्दै पार्टी विगार्दै छ, एमालेका कार्यकर्ता भड्काउँदै हुनुहुन्छ । यो कामको निर्देशक प्रचण्ड हुनुहुन्छ,’ माधव समुहकै एक नेता भन्छन, किन यस्तो गरिरहनु भएको हो ? बुझ्नै सकिएन, सुध्रनु भएन भने हामी पनि साथ छाडछौं ।’ त्यसो त प्रचण्डले माधव समुह एमाले तहस नहस पार्न खडा गरिएको दस्ताको रुपमा परिभाषित गर्नुभएको छ । प्रचण्डकै शब्दमा उहाँहरु नेकपा एमाले भित्र विद्रोह गर्दै हुनुहुन्छ । प्रचण्डकै भनाइमा उहाँहरु सकेसम्म एमाले पार्टी कब्जा गरेर माओवादीलाई बुझाउने योजनामा हुनुहुन्छ । त्यो नसके अन्ततः विद्रोह गरेर उहाँहरु माओवादी केन्द्रमा नै समाहित हुनुहुनेछ । ‘माधवजीहरु अन्ततः आउने यतै हो, त्यसैका लागि एमालेमा बबण्डर गरिरहनु भएको छ,’ प्रचण्डको भनाई छ ।