जनता टाइम्स

९ चैत्र २०७७, सोमबार ०८:३४

प्रचण्डलाई सूर्य थापाले दिए जस्ताको तस्तै जवाफ


काठमाडौं, चैत ९ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आत्महत्या गर्ने ठोकुवा गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध प्रचण्डले दिनुभएको आपत्तिजनक अभिब्यक्तिलाई लिएर थापाले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन,’ थापाले भन्नुभएको छ ।

यस्तो छ प्रचण्डलाई थापाको जवाफ
एउटा भनाइ चर्चित छ,
रिसाएको बिरालोले खाबो चिथोर्छ !
पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवतः यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !

विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ? नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ?

उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ? नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थियो ९।५ बर्षसम्म ? कहाँ कस्तो कायलनामा कागज गरेर त्यस्तो सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियो महाशयलाई ?
आज धेरै बकबक नगरेर ऐनामा आफ्नो अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्यो होला कि ?
आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला ! तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलोज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।