काठमाडौं, चैत्र ९
‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ ।’ यी वाक्यहरु तत्कालिन नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले माघ २८ गते भृकुटीमण्डपमा आयोजित विरोध सभामा भनेका हुन् ।
प्रसंग थियो, प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेर सवालाख बत्ति बालेर जलरी फेर्न रकम दिएको । त्यसलाई राजनीति रंग दिन तत्कालिन प्रचण्ड–नेपाल खेमा जोडतोडले लागेको थियो । आफुलाई सच्चा कम्युनिष्ट बताउने सो समुहका नेता नेपालले पनि पशुपति जानुलाई ओलीकै जिवनको ठुलो गल्ती जस्तो गरेर चित्रण गर्नुभएको थियो । तर, समय फेरिदो रहेछ । सभामा ओलीलाई पशुपति गयो भनेर ठुला ठुला गाली गर्ने तिनै नेता नेपाल आइतबार विहान लुसुक्क पशुपतिनाथको दर्शन गरेर फर्किएको रहस्य खुलेको छ ।
नेता नेपाल आइतवार बिहान करिव नौं बजे पशुपति पुग्नु भएको थियो । पत्नी गायत्री नेपालसहित दुई सहयोगी लिएर नेता नेपाल पशुपतिनाथको दर्शन गर्न पुग्नु भएको हो । पशुपतिनाथको बाहिर रहेका सबै मठ मन्दिरको विधिपूर्वक दर्शन गरेपछि मूल मन्दिरभित्र प्रवेश गरेर पञ्चामृत पूजा गर्नुभएको थियो । श्री पशुपतिनाथको पहिलो आदिकलसको जल अभिषेक लिनुभएको र गुरुहरूसँग आशिर्वादका लागि अनुरोध गर्नुभएको स्रोतले जानकारी दिएको छ । श्रीका चारैजना अर्चकले उहाँलाई आशिर्वाद दिनुभएको थियो । प्रधानअर्चक गणेश भट्टले श्रीमा अर्पण गरिएको माला लगाइदिएपछि निकै खुसी देखिनुभएका नेता नेपाल पनि मुसुक्क हास्नु भएको थियो ।
मनका चाहना पूरा होस्, अनि जानअन्जानमा गरेका गल्तीहरु क्षमा होस् भनेर पशुपतिनाथमा पञ्चामृत पुजा गर्ने शास्त्रीय मान्यता रहेको छ । माधव नेपालले पञ्चामृत पूजा गरेपछि पढिने क्षमापूजाका मन्त्र र रुद्राभिषेक पनि श्रवण गर्नुभयो । (तस्विर स्रोत : केन्द्रविन्दु)













प्रतिक्रिया दिनुहोस्