काठमाडौं, चैत्र १०
‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्टु भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ । यस्तो गंभीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’ कमल थापाको सोमबारको यो भनाईले माओवादी केन्द्रले कस्तो राजनीति गरेको छ भनेर चित्रण गरेको छ ।
नेपालीमा एउटा उखान छ, ‘नखाउ भने दिनभरीको शिकार, खाउ भने … को अनुहार’ यस्तै भएको छ माओवादी केन्द्रलाई । प्रतिनिधिसभा पुनःस्थापना भएपछि सर्वाधिक खुशी हुने खेमाको नेतृत्व यो पार्टीले लिएको थियो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच चर्चित लड्डु काण्ड नै घट्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसपछि भन्नुभएको थियो, ‘के खुशीमा लड्डु खाए, के पाउँछन् अब हेर्नुछ ।’
पुनःस्थापना भएको दुई महिना पुग्न लाग्यो । चैत्र ११ गते दुई महिना पुग्छ । तर, यो दुई महिनामा न त राजनीतिले नयाँ कोर्स लिन सकेको छ । न त पुरानै कोर्सलाई सहजता प्रदान गरेको छ । नेपालको राजनीति अहिले सर्वाधिक कठिन मोडमा छ । देश अस्थिरतातर्फ जाने हो कि भन्ने भय सबैमा छ । त्यसको कारक हो, नेकपा माओवादी केन्द्र । संसदको सबैभन्दा ठुलो दल एमालेले माओवादी केन्द्रको समर्थनमा सरकार बनाएको छ ।
माओवादी केन्द्र भने सरकारको सबैभन्दा ठूलो प्रतिपक्ष जस्तो देखिएको छ । तर, कानुनी रुपमा सरकारलाई निरन्तरता दिने पक्षमा छ न त नयाँ सरकार बनाउने ल्यागत नै राख्छ । नयाँ सरकार बनाउन भेटेजति सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिड्नु भएका प्रचण्ड अहिले पनि सोही कार्यमा निरन्तर जुटिरहनु भएको छ । तर, सफलता कहिले प्राप्त हुन्छ, केही टुंगो छैन । जसले गर्दा राजनीतिक अन्यौलता बढ्दै गईरहेको छ र त्यसैमा माओवादी केन्द्र रमाईरहेको छ ।
माओवादीका प्रमुख सचेतक देव गुरुङले राजनीतिक रुपमा समर्थन फिर्ता पहिल्यै लिए पनि विधिमा कहिलेमा जाने भन्नेमा टुंगोमा पुगिनसकेको बताउनु भयो । ‘विश्वासको मत प्राप्त गर्नु भएन भने उहाँले संसद्लाई के गर्नुहुन्छ भन्ने प्रश्न आउँछ, हामी सदनको रक्षा र संविधानको रक्षा गर्नेमा छौँ’, उहाको भनाई थियो । तर, यस्तो राजनीतिक अन्यौलता कहिलेसम्म भन्ने कुरा उहाले खुलाउन सक्नु भएन ।
नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने यस्तै अवस्था रहिरहे निर्वाचनमा जानुपर्ने भनेर अवाज उठाईरहेका छन् । तर, माओवादी केन्द्र अस्थिरतामै रमाईरहेको कतिपय नेताको आरोप छ । प्रचण्डको चर्चित भनाई छ, मैले धेरैलाई प्रधानमन्त्री बनाईसके भनेर तर, प्रधानमन्त्री बनाएको त्यहि व्यक्तिलाई कति महिनापछि समर्थन फिर्ता लिएर राजनीतिक अस्थिरता बनाईरहे भनेर कहिले भन्न सक्नु भएको छैन ।













प्रतिक्रिया दिनुहोस्