विराटनगर, चैत्र ११
सत्तारुढ नेकपा एमालेको प्रदेश–१ संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । दलको आज बसेको बैठकले प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सांसदलाई एकसाता भित्र फिर्ता लिन निर्देशन दिएको हो ।
तत्कालिन नेकपा हुँदा प्रचण्ड–माधव नेपाल पक्षका सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बहुमतबढि सांसद उपस्थित दलको बैठकले सो निर्देशन दिदै हस्ताक्षर फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । त्यस्तै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड पनि गठन गरेको छ । बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलगायतलाई मनोनयन गरेको छ ।
बैठकमा उपस्थित माधव नेपाल पक्षधर सांसदहरु तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरुले अविश्वास प्रस्ताव फिर्ता हुनसक्ने जानकारी गराउनु भएको थियो । माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका टङ्क आङ्बुहाङ पनि एमाले दलको बैठकमा उपस्थित हुनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्