डोटी, चैत ११
फागुपूर्णिमाका अवसरमा विशेष होली देउडा प्रतियोगिता आजबाट शुरु भएको छ । यहाँको जोरायल गाउँपालिका–५ स्थित त्रिवेणी युवा समाजको आयोजनामा गाउँपालिकास्तरीय खुल्ला होली देउडा प्रतियोगिता शुरु भएको हो । उक्त प्रतियोगिताको त्रिवेणी युवा समाजका अध्यक्ष निर्मलकुमार भाटले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा सबैले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कला संस्कृतिको जर्गेना गर्नुपर्छ भन्ने मान्यताले हामीले होली प्रतियोगिता आयोजना गरेका छौँ । सबैले सहयोग गरे यहाँको कला संस्कृतिको जर्गेना हुनेछ ।’
उक्त प्रतियोगितामा १२ समूहले नाम दर्ता गराएका छन् । कला र संस्कृति संरक्षणका लागि आयोजना गरिन लागेको उक्त होली प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १५ हजार, द्वितीय हुनेलाई रु चार हजार ५०५ तथा तृतीय हुनेलाई रु दुई हजार ५०५ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । होली देउडा पूर्णिमाको दिनसम्म सञ्चालन गरिने छ । सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले होली देउडा पछिल्लो समय प्रतियोगिताका रुपमा खेल्दै आएका छन् ।
जिल्लाको पूर्वीचौकी, आदर्श, जोरायललगायतका स्थानीय तहमा होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ भने महिला रातो सारी कम्मरमा सेतो पटुका बाधेर खेल्ने चलन रहेको पूर्वीचौकी गाउँपालिका सानागाउँका स्थानीयवासी नरेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पुराना वीरयोद्धाका गाथामा आधारित गीत समेटेर यहाँ होली खेल्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।
विद्युत् घटनाको छानबिनका लागि टोली परिचालन
पूर्वीचौकी गाउँपालिका–५ काठमाडौँमा विद्युत् लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानबिन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा टोली पठाइएको छ । प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार विद्युत् सर्ट हुनुको कारण र भएको क्षतिका बारेमा छानबिन तथा घटनाको यर्थात विवरण बुझ्नका लागि प्रहरी, प्रशासनका कर्मचारीसहितको टोली आज बिहान घटनास्थलतर्फ पठाइएको हो ।
मङ्गलबार दिउँसो करिब ३ः३० बजेको समयमा विद्युत्को भोल्टेजमा आएको गडबढीका कारण विद्युत् तार सट भई करेन्ट लागेर चार घाइते हुनुका साथै एक घर र एक गोठमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी स्थानीय रत्ना विक, पार्वती बोगटी, सरस्वती बोगटी गम्भीर घाइते भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । घाइतेमध्ये दुईको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल र एकको जिल्ला अस्पताल सिलगढीमा उपचार भइरहेको छ ।
विद्युत्को तार लस्किएको र सो तार मर्मत गर्न गाउँ पुगेका विद्युत् कर्मचारीले ट्रान्र्फमरबाट डाइरेक्ट लाइन छोडेका कारण उक्त दुर्घटना भएको स्थानीयवासीको आरोप छ । यसैगरी आगलागीका कारण स्थानीय चक्र बोगटीको घरमा रहेका लुगाकपडा र खाद्यान्न जलेर नष्ट भएका छन् भने धर्म बोगटीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । करेन्ट लागेर घाइते भएकाको अवस्थामा क्रमिकरुपमा सुधार आउन थालेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्