जनता टाइम्स

११ चैत्र २०७७, बुधबार २०:००

कोरोनालाई भयावह हुन नदिन सबैले ध्यान दिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड


काठमाडौं, चैत्र ११

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमणलाई भयावह हुन नदिने सबैले ध्यान दिनुपर्ने बताउनु भएको छ । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिडको संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले खोपमात्र लगाएर संक्रमण निर्मूल पार्न सजिलो नभएको बताउदै पूर्ण रूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्न आग्रह गर्नुभयो । ‘तीन दिनदेखि लक्षणहरू फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ । अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेसन चाहिँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन’, उहाले भन्नुभयो, ‘खोप लगाएर निर्मूलन हुन सजिलो छैन । पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्ण रूपमा नियन्त्रण गर्न सामाजिक दूरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने, संक्रमण हुने स्थिति नहोस् ।’

प्रधानमन्त्री ओलीले संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताउनु भयो । ‘हामीकहाँ यसको असर कम पर्‍यो । फेरि पनि कम पर्छ र बाहिर, अन्यत्रजस्तो यसलाई हामी संक्रमित हुन दिँदैनौं, दिनु हुँदैन । विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सिसिएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरेमात्रै हामी यसबाट जोगिन सक्छौं’, उहाको भनाई थियो ।