जनता टाइम्स

११ चैत्र २०७७, बुधबार २१:५६

अण्डा र मासुमा आत्मनिर्भर बन्यो नेपाल


काठमाडौं, चैत्र ११

नेपाल अण्डा र मासुमा आत्मनिर्भर बनेको छ । अण्डा र मासुसँगै धुलो दूध (एसएमपी) र बटरमा पनि आत्मनिर्भर भएको हो । धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ । यी चिज नेपालमा नै भएको उत्पादन पर्याप्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको छ । बटर
(घिउ) १२ सय मेट्रिक टन उत्पादन हुन्छ त्यति नै खपत हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । ब्रेड तथा अन्य कुरामा प्रयोग हुने बटर थोरै मात्रामा आयात हुन्छ तर घिउलाई चाहिने बटर नेपालमै उत्पादन हुने गरेको छ ।

फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालसँग तीन हजार ४५० मेट्रिक टन धुलो दूध र एक हजार ८६० मेट्रिक टन बटर मौज्दात रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानसँग एक हजार पचास मेट्रिक टन धुलो दूध र पाँच सय ५० मेट्रिक टन बटर मौज्दात रहेको छ भने निजी क्षेत्रसँग दुई हजार ४०० मेट्रिक टन धुलो र एक हजार २९० मेट्रिक टन बटर मौज्दात रहेको मन्त्रालयका सहसचिव डा. विमल निर्मलले जानकारी दिनुभयो ।

नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ । त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु रहेको छ । बाँकी अन्य पशुपन्छीको मासु हुने गरेको छ । नेपालमा कुखुरा, खसी, बङ्गुर र राँगाको मासु बढी प्रयोग हुन्छ । यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको कृषि मन्त्रालयले जनाएको छ । वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेका छन् । विभागको तथ्याङ्कअनुसार नेपालमा दैनिक १० लाख केजी कुखुराको मासु खपत हुन्छ ।

नेपाल अण्डामा आत्मनिर्भर मात्र होइन चाहिनेभन्दा बढी उत्पादन भइरहेको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा एक अर्ब ४० करोड अण्डा उत्पादन हुन्छ । त्यसमध्ये प्रतिव्यक्ति वार्षिक रूपमा न्युनतम ४८ वटा खानुपर्छ तर नेपालमा प्रतिव्यक्ति ५४ वटा अण्डा पुगिरहेको छ । सहसचिव निर्मलका अनुसार प्रतिव्यक्ति १०० गोटा अण्डा पु¥याउने लक्ष्य रहेको बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबाट यी चिजमा आत्मनिर्भर रहेको घोषणा गराउने भएको छ ।