जनता टाइम्स

१३ चैत्र २०७७, शुक्रबार १६:०९

एमाले संसदीय दलको बैठकमा तीन एजेण्डामा छलफल, माधव नेपाल र भिम रावल अनुपस्थित


काठमाडौं, चैत्र १३

नेकपा एमाले संसदीय दलको बैठकमा तीन वटा एजेण्डामाथी छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकमा यसअघि अनुपस्थित हुनु भएका सांसदहरु पनि सहभागी हुनु भएको छ ।

संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका सांसदहरु सहभागी हुनु भएको हो । बैठकमा प्रधानमन्त्रीको दायाँतर्फ वामदेव गौतम र झलनाथ खनाल बस्नु भएको छ भने बायाँतर्फ ईश्वर पोखरेल र सुवास नेम्वाङ हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक भेट्न पुग्नु भएका माधवकुमार नेपाल र भीम रावल भने उपस्थित हुनु भएको छैन । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएको एक नेताले जानकारी दिनुभयो ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने बताउनु भयो ।