जनता टाइम्स

१३ चैत्र २०७७, शुक्रबार १७:१३

संयोजक महरद्वारा माधव पक्षधर विद्यार्थी नेता निलम्बन गरी स्पष्टीकरण माग


काठमाडौं, चैत १२

नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको संस्थापन पक्षले समानान्तर कमिटीका पदाधिकारीलाई निलम्बन गरी स्पष्टीकरण सोधेको छ ।अनेरास्वविूका संयोजक ऐन महरको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई ३ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णयसमेत गरेको हो । उनीहरू तीनैजना अनेरास्ववियूका सचिव रहनुभएको थियो ।

तीन दिनअघि राजधानीमा भएको विद्यार्थीको राष्ट्रिय भेलाले पराजुलीको अध्यक्षतामा ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । संगठनको गरिमामा आँच आउने गरी गुटगत भेला गरेर समानान्तर कमिटी बनाएको, संगठनको हितविपरीत गैर राजनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै उनीहरूलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फागुन २३ को निर्णयलाई स्वागत गरेको छ । साथै त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते तोकेको स्ववियू निर्वाचनको तयारीमा जुट्न सबै क्याम्पस तथा मातहत कमिटीहरूलाई निर्देशन दिएको छ ।