जनता टाइम्स

१५ चैत्र २०७७, आईतवार १७:२७

मुख्यमन्त्री पौडेद्धारा बुधबार संसदीय दलको बैठक आव्हान


काठमाडौं, चैत १५

वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले चैत १८ गते प्रदेशसभा संसदीय दलको बैठक बोलाउनुभएको छ । करिव चार महिनाअघिदेखि आफ्नै पार्टीका सांसदहरूका अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेको छ । यस बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य पक्षलाई औपचारिक रूपमा निर्देशन दिने बताइएको छ ।

तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षधर सांसदहरूले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास लगेका थिए । सो प्रस्तावमाथि छलफल हुन सकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल पक्षले छलफल गरिरहेको छ । यसअघि प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको थियो । संसदीय दलको बैठकमा माधव नेपाल पक्षको सहभागिता निश्चित भइसकेको छैन ।

वागमती प्रदेशको ११० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ । दलको बैठकपछि प्रदेश सरकारमा नयाँ मन्त्रीहरू नियुक्त हुने भएका छन् । यसअघि तीनजना मन्त्रीहरु शालिकराज जमरकट्टेल, युवराज दुलाल र अरुण नेपालले राजिनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनुभएको थियो । अबको मन्त्रिपरिषद् विस्तारमा महिलासहित कम्तीमा ५ जना नयाँ मन्त्री थप्ने तयारी भइरहेको जनाइएको छ ।