जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार २०:२४

प्रधानमन्त्री ओली नेपाली फुटबल टोलीका लागि ‘गुडलक’ !


काठमाडौं, चैत्र १६

नेपाली फुटबल टोलीका लागि प्रधानमन्त्री केपी शर्मा ओली लक्की ठहरिनु भएको छ । संयोग मान्ने कि गुडलक मान्ने प्रधानमन्त्री ओली उपस्थित भएको खेलमा नै नेपालले लामो समयपछि गोलको खडेरी अन्त्य गरेको थियो ।

दशरथ रंगशालामा सोमबार थ्रि नेसन्स कप फुटवलको फाइनल खेल आयोजना भएको थियो । प्रधानमन्त्री ओली शुरुवातदेखी अन्त्यसम्म खेलाडीको उत्साह थप्न रंगशालामै बस्नु भयो । ओली उपस्थित खेलमा नेपालले सात खेलपछि गोलको खाता पहिलो पटक खोलेको थियो ।

खेलको १८ औं मिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए । यो गोल नेपालले आठौं खेलमा गरेको पहिलो गोल हो । संजोगले आफ्नो दोस्रो खेलमा पहिलो गोल गरेका थिए । यस्तै, खेलको ४१ ‌औं मिनेटमा विशाल राईले सुन्दर गोल गरेका थिए ।

प्रधानमन्त्री ओली उपस्थित खेलमा नेपालले गोलको खडेरीमात्र टारेन ३७ वर्षपछि पहिलो पटक घरेलु मैदानमा उपाधि समेत जितेको छ । यसअघि सन् १९८४ मा नेपालले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदका पुरुषतर्फ स्वर्ण जितेको थियो र यसको ३७ वर्षपछि अर्को उपाधि जित्न सफल भएको छ ।