काठमाडौं, चैत्र १७
सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच वार्ता शुरु भएको छ । गृह मन्त्रालयमा दुई पक्षबीच वार्ता शुरु भएको हो । थारु कल्याणकारिणी सभा (थाकस)का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आजै पाँच सदस्यीय बार्ता टोली गठन गरेको थियो ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको छ । थाकसको वार्ता टोलीको नेतृत्व पूर्व सांसद रुक्मिणी चौधरी रहनुभएको छ । संघर्ष समितिकी उपसंयोजक तथा थाकसको संगठन विभाग प्रमुख समेत रहनुभएकी चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
वार्ता टोलीका सदस्यमा महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी रहनुभएको छ । महामन्त्री चौधरीकाअनुसार यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल हुनेछ ।
निलम्बित सांसद रेशम चौधरी तथा टीकापुर घटनाका दोसी करार गरिएकाहरुको रिहाइ, झुटा मुद्दा खारेजी, २०७२ भदौ ८ गते टीकापुर घटनापछि थारुहरुको घरमा भएको लुटपाट, आगजनी, चेलीबेटीमाथि गरिएको हातपातमा संलग्न दोसीको पत्ता लगाई कारवाहीको मागसमेत गरिएको छ । त्यस्तै, राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा लोकसेवा आयोगमा प्रतिशत निर्धारण र संविधान संशोधनका मुद्दा छन् ।













प्रतिक्रिया दिनुहोस्