कास्की, चैत १७
खरामा यही चैत्र २० र २१ गते राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रेस्लिङ संघले आयोजना गरेको दोस्रो संस्करणको रेस्लिङ च्याम्पियनशिप पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने भएको हो । आर डब्लु नेशनल च्याम्पियनशिप २०२१ नाम दिइएको प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा च्याम्पियन हुने रेस्लरले नगद रु १ लाख नगद सहित च्याम्पियन बेल्ट र दोश्रो हुनेले नगद रु=५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । रेस्लिङमा नुवाकोटे टाइगर, थागु, द यूव, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । रेस्लिङमा २२ वर्षदेखि ३८ वर्षसम्मका खेलाडीले भाग लिने महासचिव श्रेष्ठले जानकारी दिइन् । साथै कोभिडका कारण अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता गराउन नसकिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा मुख्य निर्णायकको रुपमा प्रदिप पाण्डे र सहायक निर्णायकको रुपमा शिसम, मनी र विकास श्रेष्ठ लगायत रहने छन् । प्रतियोगितामा करिब २९ लाख खर्च हुने आयोजकले जनाएको छ । दुई दिनसम्म हुने रेस्लिङ प्रतियोगिता हेर्न प्रवेश शुल्क १ सय र २ सय तोकिएको छ भने दर्शकलाई थप मनोरञ्जन दिन हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुती रहने छ ।
प्रतिक्रिया दिनुहोस्