काठमाडौं, चैत १८
फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले जिब्राल्टारलाई उसकै मैदानमा ७–० ले पराजित गरेको हो । भिक्टोरिया स्टेडियम जिब्राल्टारमा नेदरल्यान्ड्सको फराकिलो जितमा मेम्फिस डिपाएले दुई गोल गर्दा स्टेभन वर्गहुइस, फ्रान्की डि जोङ, जर्जिन्हो वाइनाल्डम, डोनीएल मालेन र डोनी भान डि विकले समान एक गोल गरे ।
पहिलो हाफमा एक तथा दोस्रो हाफमा ६ गोल सम्भव भएको थियो । ४२औ मिनेटमा स्टेभन वर्गहुइसको गोलबाट नेदरल्यान्ड्सले पहिलो हाफमा १–० को अग्रत लिएको थियो । उनले जर्जिन्हो वाइनाल्डमको पासमा गोल गरेका थिए । जिब्राल्टारले पहिलो हाफमा एक गोलमा रोकेपनि दोस्रो हाफमा नेदरल्यान्ड्सको चुस्त आक्रमणलाई रोक्न सकेन । ५५औं मिनेटमा लुक डि जोङले स्टेभनको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रत दोब्बर पारे ।
६१औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दा नेदरल्यान्ड्स ३–० ले अघि बढ्यो । ६२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले गोल गरेपछि नेदरल्यान्ड्स सहज जिततर्फ अग्रसर भयो । ६४औं मिनेटमा डोनीएल मालेनले डाभी क्लासेनको पासमा गोल गरेपछि नेदरल्यान्ड्स फराकिलो जिततर्फ अग्रसर बन्यो । ८५ औं मिनेटमा डोनी भान डि विकले ओवेन विज्डलको पासमा गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा ६–० को आरामदायी अग्रता लिन सफल भयो ।
८८औं मिनेटमा मेम्फिस डिपाएले ओवेनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौ गोल गर्दै नेदरल्यान्ड्सलाई ७–० को फराकिलो जित दिलाए । यही समूह ‘जी’ को अर्को खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजा पछि टर्की ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक भएपनि नेदरल्यान्ड्स, मोन्टेनेग्रो र नर्वे गोलअन्तरमा दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको छ । अंकविहीन जिब्राल्टार पुछारमा छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्