जनता टाइम्स

१८ चैत्र २०७७, बुधबार १५:४३

सरकारले इतिहासमै ठूलो काम गरेको छ, सलाम गर्न चाहन्छु : शान्ता चौधरी


काठमाडौं, चैत १८

नेकपा (एमाले) की प्रमुख सचेतक शान्ता चौधरीले सरकारले इतिहासमै ठूलो काम गरेको बताउनुभएको छ । विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको उल्लेख गर्दै चौधरीले यस्तो बताउनुभएको हो । ‘विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा सरकारले प्रवेश गराएको छ,’ आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै चौधरीले भन्नुभयो,‘खुल्ला धन्यावाद दिनुको सट्टा अहिले पनि सरकारको विरोध गरिरहनु भएको छ । अब नेपालमा कोही पनि विद्रोही रहने छैनन् । इतिहासमै ठूलो काम गरेको छ सरकारले । म सलाम गर्न चाहन्छु ।’

उहाँले यही सरकारका कारण देशका सबै पालिकामा अस्पताल पुगेको, समाजिक सुरक्षा भत्ता बढाउँदै लगेको बताउनुभयो । चौधरीले नेपालले कोरोना खोप अरु देश भन्दा पहिले ल्याएर लगाउन शुरु गरेको भन्दै सरकारलाई धन्यावाद दिनुभयो । उहाँले थप्नुभयो,‘नेपाल सरकारले कोरोनाको खोप यति छिटो ल्याएर लगाउन शुरू गरिसकेको छ । यसका लागि पनि म धन्यवाद दिन चाहान्छु ।’