काठमाडौं, चैत १८
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओ अर्को साता मात्र बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मेगा क्यापिटलले चैत्र २५ गते आईपिओको प्रि अलोटमेन्ट गर्ने र चैत्र २७ गते आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटलले मेरोशेयरमा पटक–पटक समस्या आएकोले आईपिओ बाँडफाँडमा ढिलाई भएको जनाएको छ । मेरोशेयरमा थप समस्या नदेखिए चैत्र २७ गते शेयर बाँडफाँड गर्ने तयारी रहेको क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपिओमा ९ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन बेलुका ५ बजेसम्ममा १६ लाख २३ हजार ४ सय ५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको थियो । यो माग भन्दा ९.१६ गुणा बढी हो । कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । अन्य बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आइपिओ गोलाप्रथाबाट २ लाख ६९ हजार ७ सय जनाले मात्र पाउने छन् ।
यस हिसाबमा आवेदन दिएका मध्ये १३ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि आवेदन फेरिफाई हुने क्रम मै रहेकोले यो संख्यामा केहि तलमाथि हुन सक्ने छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।













प्रतिक्रिया दिनुहोस्