जनता टाइम्स

१९ चैत्र २०७७, बिहीबार ११:०९

नेकपा भंग गर्ने आदेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशको बेन्चमा


काठमाडौं, चैत्र १९

तत्कालिन सत्तारुढ नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनको सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूसहितको पूर्ण इजलास बनाउनु भएको छ ।

इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना रहनु भएको छ । पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने निर्णय गर्नेछ । नेकपाको नाम सम्बन्धी मुद्दाको फैसला दिने क्रममा गएको फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र पुनःस्थापित गर्ने निर्णय गरेको थियो ।

सो फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको मंगलबार सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता गरेका थिए । एकता भंग गर्ने फैसला कानूनी नभई सर्वोच्चको राजनीतिक निर्णय रहेको माओवादी केन्द्रले दाबी गरेको छ ।