जनता टाइम्स

१९ चैत्र २०७७, बिहीबार १२:१८

निर्मला हत्या प्रकरण : प्रहरीले यस्तो भेष धारण गरेर हत्यारा खोज्यो


काठमाडौं, चैत्र १९

निर्मला हत्या प्रकरण घटेको झण्डै ३ वर्ष पुग्न लाग्दा प्रहरीले हत्यारा पत्ता लगाएको दावी गरेको छ । निक्कै सुक्ष्म अनुसन्धान गरेपछि त्यसलाई निष्कर्षमा पुर्‍याएको दाबी गरेको हो ।

स्थानीयसँगै लामो समय घुलमिल गरेका प्रहरीले हत्यारा पत्ता लगाएको र छिट्टै सार्वजनिक गर्ने तयारी समेत गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । निर्मला पन्त हत्याका अभियुक्त पत्ता लागेको र छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले पनि पुष्टि गर्नुभयो । ‘प्रदेश प्रहरीले हत्यारा पत्ता लागेको जानकारी हामीलाई गराएको छ । केही समयपछि सार्वजनिक हुन्छ,’ एसएसपी कुँवरले भन्नुभयो, ‘सबै प्रमाण जुटिसकेको छ ।’

कसरी लाग्यो त हत्यारा पत्ता ?

प्रहरीले विशेषगरी फिल्ममा देखाइने सिन जस्तै गरेर घटनाको अनुसन्धान गरेको छ । त्यहाका लागि सादा पोशाकका प्रहरी लामो समयदेखी स्थानीयसँग घुलमिल गरेका थिए । उनिहरु विभिन्न वाहानामा स्थानीयसँग घुलमिल गरेपछि हत्याका विषयमा नजानिदो तरिकाले कुराहरु गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । त्यसपछि घटनामा भेटिएका प्रमाण र ति व्यक्तिका विषयमा प्रहरीले केही समय अगाडी देखी नै अनुसन्धान गरिरहेको छ ।

प्रहरीकाअनुसार अझै पनि हत्याराको आरोपी व्यक्ति पक्राउ परेका छैनन् । उनलाई अझै कडा निगरानीमा राखिएको र छिट्टै पक्राउ गरी सार्वजनिक गर्ने योजनामा प्रहरी रहेको छ । यसअघि हत्याको आशंकामा केही व्यक्तिलाई पक्राउ गर्दा कञ्चनपुरमा मात्र नभए देशभर आन्दोलनको स्थिति बनेको थियो । तर, पछि सो आन्दोलन गलत रहेको पनि कति अनुसन्धानले देखाएको थियो ।

प्रहरीले शुरूमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका दिलिपसिंह विष्टलाई प्रहरीले सार्वजनिक गरेको थियो । तर पछि प्रमाण नपुगेको भन्दै छाड्नु परेको थियो । तर, यसपटक भने त्यस्तो अवस्था नआउने र प्रमाणसहित अदालतमा बुझाउने प्रहरीको भनाई छ ।