जनता टाइम्स

१९ चैत्र २०७७, बिहीबार १२:५९

सुरेन्द्र पाण्डे र घनश्याम भुषालपनि एमालेबाट ६ महिना निलम्बित (पत्रसहित)


काठमाडौं, चैत्र १९

नेकपा एमालेले पार्टी हितविपरित काम गर्ने नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । यसअघि माधवकुमार नेपाल र भिम रावलपनि ६ महिनाका लागि निलम्बनमा पर्नुभएको थियो ।

एमालेले दोस्रो पटक सोधेको स्पष्टीकरणमा मात्रै नेताद्वय पाण्डे र भुषालले स्पष्टीकरण बुझाउनु भएको थियो । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय भएको एमालेले जानकारी दिएको छ । एमालेको तत्कालिन केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

‘तपाईले अहिले पनि पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उदेश्य तथा मनासायको निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएको’, पत्रमा उल्लेख छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ । अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिईसक्नु भएको छ । नेताद्वयलाई सच्चिन यो अन्तिम मौका भएको पनि पत्रमा उल्लेख गरिएको छ ।

‘यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाविधेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ’, पत्रमा भनिएको छ ।

यस्तो छ निस्कासन गरिएको पत्र