काठमाडौं, चैत्र २०
कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । उपभोक्ता र किसानबीचको यही दूरी घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ ।
विहिवारबाट किसानले आफ्नो उत्पादन स्टलबाट सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताउनु भयो ।
कालीमाटीमा १२ वटा स्टल किसानका लागि राखिएको छ । सिधै व्यापारीले खरिद गर्ने हुँदा किसानको बारीदेखि तरकारी बजारसम्म आइपुग्दा भाउ निक्कै महंगो हुने गरेको छ । स्टलमा बुधबार र बिहीबार परीक्षणका रूपमा ४ किसानले तरकारी बिक्री गरेका थिए । बिहीबार दिउँसो अर्का एक किसान थपिएका थिए । समितिका अनुसार किसानले बेलुका ७ बजेदेखि भोलिपल्ट दिउँसोको ४ बजेसम्म तरकारी बेच्न सक्छन् ।
हाल कालीमाटीमा ५ सय स्टल छन्, तीमध्ये २७ वटा सहकारी संघसंस्थाका लागि राखिएको छ । ती स्टल १५ वर्षको सम्झौता गरि दिइएको हो । त्यहाँ पनि बिचौलियाकै रजगज छ । समितिले दुई वर्षअघि गरेको अध्ययनमा एउटै स्टल एकपछि अर्कोलाई गर्दै ५ जनासम्मलाई बेचेको पाइएको थियो ।













प्रतिक्रिया दिनुहोस्