जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार १६:४७

एक व्यक्ति प्रधानमन्त्री बन्न पाएन भने प्रतिगमन भन्ने ? ख्यालठट्टा हो ? : प्रधानमन्त्री ओली


काठमाडौं, चैत्र २०

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही अमुख व्यक्ति प्रधानमन्त्री बन्न नपाएको झोकमा प्रतिगमनको स्यालहुइया मचाइएको बताउनु भएको छ । उहाले प्रधानमन्त्री बन्न नपाउँदा प्रतिगमन र बन्न पाउने वित्तिकै क्रान्ति भन्ने कुरा नहुने बताउनु भएको हो ।

देश प्रगतिको दिशामा अगाडि बढिरहेका बेला प्रतिगमन भयो भन्दै स्यालहुइया नमच्चाउन उहाले चेतावनी पनि दिनुभयो । मेलम्ची खानेपानीको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो, ‘अब जनताको चेतना जागेका बेला कसैले पनि प्रतिगमन भयो भन्ने स्याल हुइया नमच्चाउँदा हुन्छ । के हो यो प्रतिगमन भन्या ? ख्यालठट्टा हो ? किन अनावश्यक स्यालहुइया मच्चाइँदैछ ? जनता अल्मल्याउने ? कोही शासनमा पुग्दा क्रान्ति हुने, कोही पुग्न नपाए प्रतिगमन ?’

प्रधानमन्त्री ओलीले कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा ‘संविधान मासियो, गणतन्त्र–संघीयता ध्वस्त पारियो’ भन्दै हल्ला गरिएकोमा समेत असन्तुष्टि व्यक्त गर्नुभयो ।