जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार १८:४८

माधव नेपाललाई नेता कार्यकर्ताले छाड्दै, मेन्याङ्वो पनि संस्थापन पक्षमा


काठमाडौं, चैत्र २०

नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाललाई नेता कार्यकर्ताले साथ छाड्न शुरु गरेका छन् । समानान्तर कमिटी गठन गर्दै अर्कै पार्टी खोल्ने तयारी गरिरहनु भएका उहाँलाई एमालेका नेता कार्यकर्ताले छाड्न थालेका हुन् ।

नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले नेपालको साथ छाडेको घोषणा गर्नुभएको छ । गत चैत ४ र ५ गतेको माधव नेपाल पक्षको राष्ट्रिय भेलासम्म नेपाल पक्षमै रहनु भएका मेन्याङ्वो प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग पनि संवादमा गर्नुभएको थियो ।

उहाले शुक्रवार गृहजिल्ला ताप्लेजुङमा युवा संघको कार्यक्रममार्फत आफू माधव नेपालको पक्षमा नरहने घोषणा गर्नुभयो । ‘फागुन २३ गते सर्वोच्चको फैसलापछि नेकपा एमाले जिन्दवाद भनेर पहिले पोष्ट गर्नेमध्ये म हुँ । मैले भावनामा बगेर त्यसो गरेको थिइन । अब म नेकपा एमालेको बिधान अनुसार अघि बढ्छु र समानान्तर कमिटी गठन प्रक्रियाको विपक्षमा उभिनेछु’, उहाले भन्नुभयो ।

नेता मेन्याङ्वोले एमालेभित्रको समस्या शीर्ष नेताहरुले आपसी संवादबाट हल गर्नुपर्ने भन्दै भाँचिनु भन्दा नुहिनु राम्रो हुने सुझाव दिनुभयो । समानान्तर कमिटी गठन गर्ने कुरामा आफ्नो विमति रहेको र त्यो पार्टी विधान तथा अनुशासनको उल्लंघन भएकाले त्यसमा साथ दिन नसकेको उहाको भनाई छ ।