जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार २०:५०

किसुनजीको भाषण भन्दा एक दशक अघि शुरु भएको थियो मेलम्ची आयोजना


काठमाडौं, चैत्र २०

नेपाली राजनीति अचम्मको छ । काम गर्न नसकेको अपजस कुनै दल लिन तयार हुदैनन् । तर, भएको एउटा कामको जस लिन भने तछाड मछाड गर्ने गर्दछन् । कसैले मैले उद्घाटन गरेको, कसैले मैले शिलन्यास गरेको त कसैले मैले शुरुमा भाषण गरेको भनेर अघि सर्ने गर्दछन् ।

यसैको पछिल्लो उदाहरण हो मेलम्ची खानेपानी आयोजना । २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भई काम गर्न शुरु गरिएको थियो । २७ किलोमिटर लामो सुरुङ छिचोलेर मेलम्चीको पानी राजधानी झर्न २२ वर्ष लाग्यो । नेपालले कार्यान्वयन गरेको गरेको सबैभन्दा ठूलो भौतिक पूर्वाधार आयोजनामा मेलम्ची पर्छ । यसका लागि मात्र ३५ अर्ब रुपैयाँ भन्दा धेरै खर्च भएको छ ।

२२ वर्षमा धेरै सरकार आए गए । कसैले पनि पानी ल्याउन सकिने भनेर जनतासँग माफी मागेनन् । न त सरकारी खर्च जोगाउन सके भनेर भन्न सके । बरु कतिपयले यही परियोजनाबाट हात दह्रो बनाउदै खर्च निकालेको चर्चा पनि राजनीतिमा चलिरह्यो । तर, जे होस् मेलम्चीको पानी ३५ अर्ब भन्दा बढि खर्च गर्दै काठमाडौं आइपुगेको छ । कतिपयले यो आयोजना सन्त नेता कृष्णप्रसाद भट्टराईको सपनाअनुसार भएको दावी गरेका छन् ।

तर, तथ्यले भने बेग्लै भन्छ । भट्टराईले राजनीतिक भाषणमा मजाक शैलीमा यसलाई जनताबीच प्रचार गरेका थिए । २०५१ सालको निर्वाचनमा भट्टराईले यो विषय उठाएपनि त्यसको वास्तविक चर्चा भने वि.स. २०२९ सालबाट भएको थियो । राजधानीबासीलाई पानी खुवाउनका लागि २०२९ सालमा खानेपानी आपूर्ति लागि सम्भाव्य स्रोतहरुको पहिचान गर्न अध्ययन टोली बनाएर अध्ययन गरिएको थियो ।

अध्ययन गरेको १२ वर्षपछि मेलम्चीसहित २२ वटा विकल्प सरकारलाई सुझाव दिइएको थियो । २०४९ मा याङग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रुपमा उत्तम विकल्प भएको ठहर गरिएको थियो । तर, त्यसपछि देश फेरी आन्दोलनतर्फ अग्रसर भएपछि यसको औपचारिक काम भने २०५५ सालबाट शुरु भएको थियो ।

यस्तो छ मेलम्चीको नालीबेली

विसं २०२९ : खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
विसं २०४१ : मेलम्चीसहित २२ विकल्प पहिचान
विसं २०४९ : याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
विसं २०५५ : मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
विसं २०६४ : नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन ( मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
विसं २०७७ फागुन २२ : मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
विसं २०७७ चैत १५ : मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
विसं २०७७ चैत २० : राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन

सुरुङ निर्माणको नालीबेली

विसं २०६५ : सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का सम्झौता, २०६६ सालको सुरुमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरु
विसं २०६९ : ६ किलोमिटर निर्माण गरिसकेपछि ठेक्का रद्द
विसं २०७० : बाँकी सुरुङ निर्माण गर्न इटलीको सीएमसीलाई ठेक्का
विसं २०७५ : २५ किमिभन्दा बढी सुरुङ खनिसकेको अवस्था फेरि विभिन्न विवाद, सीएमसीसँगको ठेक्का रद्द
विसं २०७६ : सुरुङ र हेडवर्क्सका बाँकी काम गर्न सिनोहाइड्रोसँग ठेक्का सम्झौता
विसं २०७७ असार २१ : सुरुङको पहिलो परीक्षण तर ३१ गते दुर्घटना भएपछि स्थगित
विसं २०७७ फागुन १० : सुरुङमा पानी प्रवाह गरी परीक्षण सुरु