जनता टाइम्स

२१ चैत्र २०७७, शनिबार ११:२६

रामचन्द्र पौडेलको इच्छा पुरा गरिदिन देउवाको त्यो निर्णय


काठमाडौं, चैत्र २१

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको इच्छा पुरा गरिदिन सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको छ । दलहरुबीच कुनै सहमति बन्न नसकिरहेका बेला कांग्रेसले औपचारिकता निभाउन सरकारको नेतृत्वका लागि अगाडी बढ्दै अन्य दलसँग छलफल गर्ने भएको हो ।

पार्टी कार्यालय सानेपामा शुक्रबार राति निर्धारित समयभन्दा निक्कै ढिलो बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो । यो निर्णय गराउन विशेष गरी नेता पौडेल समुहले दबाव दिएको थियो ।

जसको मुख्य कारण थियो, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय । केन्द्रीय कमिटी बैठकअघि सानेपामा भएको शीर्ष नेताहरूबीचको छलफलमा पौडेलले आफूले माओवादी केन्द्रले समर्थन फिर्ता लिने जानकारी पाएको बताउँदै सत्ता गठबन्धनको विषयमा जसरी पनि आजकै बैठकमा निर्णय हुनुपर्ने अडान लिनु भएको थियो ।

‘माओवादीले सरकारको समर्थन फिर्ता लिने जानकारी पाएको छु’, पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘जुनसुकै हालतमा सरकार गठबन्धनको विषयमा आजकै बैठकमा निर्णय हुनुपर्छ ।’ पौडेलको किचकिचपछि सभापति शेरबहादुर देउवाले परिस्थिति पक्का नहुँदासम्म कांग्रेसले निर्णयमा हतार गर्न नहुने बताउनु भयो । तर, किचकिच धेरै नै भएपछि देउवाले अन्तिममा ‘ल हुन्छ’ भन्नु भएको थियो ।

कांग्रेसले बैठकबाट निर्णय गराएपनि त्यो पुरा हुन भने अत्याधिक कठिन रहेको कांग्रेसकै नेताहरु बताउछन् । कांग्रेस र माओवादी केन्द्रले मात्रै निर्णय गरेर पनि हुँदैन । दुई दलको योजनामा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा)ले सहयोग गर्नुपर्छ, त्यो पनि एक ढिक्का रहेर । माओवादी केन्द्रसँग अहिले ५३ र नेपाली कांग्रेससँग ६३ सांसद रहेका छन् । जसमध्ये केही एमाले र केही निलम्बित अवस्थामा छन् ।

१३८ पु¥याउन कम्तिमा २७ सांसद आवश्यक पर्दछ । जसपासँग ३४ सांसद छन् । तर, जसपाभित्रै सरकारका विषयमा स्पष्ट दुई लाइन छ । महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओली नजिक हुनुहुन्छ भने पूर्व संघीय समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई प्रचण्ड निकट रहनु भएको छ । तर, जसपाका सांसदमा ठाकुर पक्षका स्पष्ट बहुमत रहेको छ ।