जनता टाइम्स

२२ चैत्र २०७७, आईतवार १९:०९

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, २४ घण्टा भित्र राजिनामा दिन मन्त्रीलाई निर्देशन


सुर्खेत, चैत्र २२

नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन चैत्र ५ गते फिर्ता लिएको एमालेले सहभागी भएका सबै मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा गर्न निर्देशन दिएको छ ।

एमाले प्रदेश सभा संसदीय दलको आज बसेको बैठकले चैत्र ४ गतेको सरकारलाई दिएको समर्थन फिर्ताको प्रस्तावलाई सदर गर्दै मुख्यमन्त्रीलाई मार्गप्रसस्त गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकमा माधवकुमार नेपाल समूहका सांसदहरू पनि सहभागी हुनु भएको थियो ।

संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले ३ जना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो । प्रमुख सचेतक गुलावजंग शाहले सोमबारसम्ममा सबै मन्त्रीले राजीनामा दिने बताउनु भयो । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह वुढा मन्त्री हुनुहुन्छ । सो प्रदेशका ४० सिटमध्ये एमाले एक्लैको २० सिट रहेको छ ।

बैठकले संसदीय दलको विधान संसोधनका लागि प्रमुख सचेतक शाहको संयोजकत्वमा करवीर शाही र मीना रखाल सम्मिलित विधान मस्यौदा समिति गठन गरेको छ । समितिले मंगलबार बस्ने बैठकमा आफ्नो प्रतिवेदन पेश गर्नेछ ।