जनता टाइम्स

२२ चैत्र २०७७, आईतवार २१:५९

रामचन्द्र पौडेललाई नाजवाफ बनाउने महन्थ ठाकुरको त्यो प्रश्न ?


काठमाडौं, चैत्र २२

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आफुहरुको एजेण्डा सम्बोधन भएपछि मात्रै गठबन्धन बन्ने जवाफ दिनु भएको छ । कांग्रेसले सरकारको नेतृत्व लिने निर्णय गरेपछि ठाकुरलाई फकाउन पुग्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई उहाले तपाईहरु पहिला क्लियर भएर आउनुहोस् भनि पठाइदिनु भएको थियो ।

ललितपुरको हात्तिवनमा भएको भेटवार्तामा पौडेलले ठाकुर समक्ष गठबन्धन बनाएर सँगै जान प्रस्ताव गर्नुभएको थियो । ‘उहाले (रामचन्द्र)मुल कुराचाँही हामी गठबन्धनमा जानुपर्छ, भनेर भन्नुभयो । मैले तपाईहरु क्लियर नै हुनुहुन्न । तपाईहरुको गठबन्धन के को गठबन्धन ?’, भेटबारे ठाकुरले भन्नुभयो । अध्यक्ष ठाकुरले आफुहरुको चार बुँदे माग जसले पुरा गर्छ उसैलाई सहयोग गर्ने बताउनु भयो ।

अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया अगाडी बढाएकाले केही समय आफुहरु पर्खिने स्पष्ट पार्नुभयो । उहाले प्रधानमन्त्री ओलीबाट सकरात्मक कुरा आएकाले आफुहरु माग पुरा हुनेमा आशावादी रहेको बताउनु भयो । डा. बाबुराम भट्टराईको भनाईप्रति लक्षित गर्दै उहाले सरकारका विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको बताउदै कुनै नेताले केही भन्यो भने त्यो उसको व्यक्तिगत टिप्पणीमात्र हुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष ठाकुरले जसपा पनी सरकारको नेतृत्व गर्न सक्षम भएकाले अवसर आए गर्न पनि सकिने बताउनु भयो । यद्यपी उहाले अहिलेको जस्तो जटिल अवस्था रहिरहेमा निर्वाचनमा जानुपर्ने स्पष्ट पार्नुभयो ।