जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार १३:४६

बर्दियाबाट काठमाडौं ल्याइयो बाघ


काठमाडौं, चैत्र २४

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याएर राखिएको छ । आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको सोही बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।

आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको थियो । ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षीय थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

१० वर्षको भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ल्याइएको हो । चिडियाखानाका कर्मचारीका अनुसार उक्त बाघलाई अहिले आराम गर्न राखिएको छ । अपरान्न ४ बजे छोडिनेछ । गत वर्षदेखि बर्दिया निकुञ्जभित्र र बाहिर बाघको आक्रमण बढेको छ । दुई वर्षमा २० जना मारिएको निकुञ्जले जनाएको छ ।