जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार १८:०९

भएका विमान र हेलिकप्टरलाई डढेलो निभाउनका लागि प्रयोग गर्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं, चैत्र २४

प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो डढेलो नियन्त्रणका लागि पानी बोक्न सक्ने विमान र हेलिकप्टर प्रयोग गर्न निर्देशन दिनु भएको छ । उहाले तत्काल सरकारसँग हवाई दमकल नभएकाले भएका र प्रयोग गर्न सकिने विमान र हेलिकप्टर डढेलो निभाउनमा प्रयोग गर्न भन्नु भएको हो ।

रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह समेत गर्नुभयो । उहाले उच्च वायु प्रदूषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाइजहाज र हेलिकप्टरको प्रयोग गर्न पनि सम्बद्ध निकायहरूलाई निर्देशन दिनु भएको हो ।

ठूलो मात्रामा र विकटका जंगलमा लागेको डडेलो नियन्त्रणमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने उहाले बताउनु भयो । ‘अहिलेका जस्तो आगलागीमा प्रयोग गर्न सकिने र अरू बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीको भनाइ थियो ।

यसका साथै हाल देशमा भएकै हवाइजहाज वा हेलिकप्टरमा अग्नि नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सोका लागि समेत कार्य प्रारम्भ गर्न निर्देशन दिनुभयो । यस कार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा प्रधानमन्त्री ओलीको थियो । उहाले वायू प्रदूषणका कारण आफुलाई असहज अवस्था पैदा भएको भन्दै सबैलाई सजग हुन अपिल पनि गर्नुभयो । ‘आगलागीको परिणाम स्वरूप उत्पन्न वायु प्रदूषणले केही दिनयता आफूले मैले समेत असहज महशुस गरेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’ उहाको भनाई थियो ।

प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरूप नै पूरा हुने दिशामा अघि बढिरहेको बताउनु भयो । साथै वीरेन्द्र सैनिक अस्पताललाई ठूलो जनधनको क्षतिका बेला काम गर्न सक्ने स्तरमा पुर्‍याउने, बंकरहरूलाई ब्यारेकमा स्थानान्तरण गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनालगायतका विषयमा कार्य अघि बढिरहेको उहाको भनाइ थियो ।