जनता टाइम्स

२६ चैत्र २०७७, बिहीबार ११:३६

माधव नेपाललाई अर्को धक्का : गुटको इन्चार्ज अमान्य भन्दै मिश्र संस्थापन पार्टीमा


काठमाडौं, चैत्र २६

नेकपा एमालेमा गुटको राजनीति चलाईरहनु भएका निलम्बित नेता माधवकुमार नेपाललाई अर्को धक्का लागेको छ । सो गुटका केन्द्रीय सदस्य सोम मिश्रले माधवकुमार नेपालको साथ छाड्नु भएको छ ।

चाँगुनारायण नगरपालिकाका मेयर समेत रहनु भएका मिश्रलाई खनाल–नेपाल समूहले भक्तपुरको इन्चार्ज बनाएको थियो । लगत्तै उहाले नेपालनिकट नेताहरूलाई फोन गरेर आफू गुटको नेता नभएको र पार्टीकै इन्चार्ज बन्ने बताउनु भएको थियो । एमालेमा उहाँ सहइन्चार्जको भूमिकामा रहनु भएको छ ।

मिश्रले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री तथा संगठन विभाग प्रमुख बिष्णु पौडेल र केन्द्रीय सदस्य महेश बस्नेत लगायतका नेताहरुसँग छलफलपछि समानान्तर कमिटी बनाउने नेपाल पक्षको साथ छाड्ने निर्णय गर्नुभएको हो । मिश्रले आफू समानान्तर कमिटीहरु गठन गरेर पार्टी विभाजनको पक्षमा उभिन नसकेको प्रतिक्रिया दिनुभयो ।

“नेपाल समूहप्रति उहाँको असन्तुष्टि थियो । मलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निकालेका छैनन् । म एमालेकै नेता हुँ । मलाई गुटको इन्चार्ज बनाएकामा आपत्ति छ भनेर असन्तुष्टि पोख्नुभएको थियो,” स्रोतले भन्यो । यसअघि बुधवारमात्रै धादिङका प्रदेशसभा सदस्य डा. रामहरी अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले नेपाल पक्षको समानान्तर कमिटीबाट अलग रहेको विज्ञप्ति निकालेका थिए ।