काठमाडौं, चैत्र २७
नेपालमा पछिल्लो पटक फैलिएको कोरोनाको संक्रमण विद्यार्थी र शिक्षकमा बढि देखिएपछि स्वास्थ्य मन्त्रालयले शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको छ । अहिले भेटिरहेका संक्रमित अधिकांश विद्यार्थी र शिक्षक तथा विद्यालयमा काम गर्ने व्यक्ति रहेका छन् ।
कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति)सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
विद्यालयमा संक्रमण फैलिए त्यसले ठुलो असर गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताउनु भयो । उहाले त्यहीबाट अन्तिम निर्णय गरिने पनि जानकारी दिनुभयो ।
मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताउनु भयो । उहाले विद्यालयसँगै सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको जानकारी दिनुभयो ।
केही दिनयता मुलुकमा कोभिड–१९ भएर सघन उपचारअन्तर्गत आईसीयूमा बस्ने ५० वर्षमाथि र ५० वर्षमुनिका उमेर समूहको संख्या उस्ताउस्तै देखिएको छ । कोरोना संक्रमणले अस्पतालका आईसीयूमा युवासमेत भर्ना हुन थालेका छन् । यसले युवाले बढी लापरबाही गरेको देखिएको चिकित्सकहरू बताउँछन् । केही महिनाअघि मुलुकमा कोभिड संक्रमण उत्कर्षमा रहेका बेला आईसीयूमा ५० वर्ष माथिका संक्रमित बढी हुन्थे ।
बालबालिकामा कोभिड–१९ को लक्षण एकदम कम देखिने गर्छ । लक्षण नदेखिए पनि उनीहरू संक्रमण सार्न सक्ने वाहक (एसिम्प्टोम्याटिक क्यारियर) हुन सक्छन् ।













प्रतिक्रिया दिनुहोस्