जनता टाइम्स

२७ चैत्र २०७७, शुक्रबार १५:०१

तीन दलको बैठक : चुनावमा जान देउवाले प्रस्ताव गर्ने !


काठमाडौं, चैत्र २७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनःस्थापना पछि विपक्षीमा रहेका तीन दलको बैठक बोलाउनु भएको छ । अपरान्ह तीन बजे बोलाइएको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता समिकरणका विषयमा छलफल हुन लागेको हो । यी तीन दलबीच सत्ताका विषयमा लामो छलफल चलेपनि कुनै सहमति जुट्न सकेको छैन । आजको बैठकमा सभापति देउवाले सकेसम्म नयाँ सरकार गठन गर्नुपर्ने नभए अब निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्न लाग्नु भएको हो ।

निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले आजको बैठकमा सरकार गठनबारे छलफल हुने जानकारी दिनुभयो । उहाले नयाँ सरकार बन्ने अवस्था नरहे चुनावमा जानुपर्ने बताउनु भयो । ‘मैले आज नि बैठक बोलाको छु । नयाँ सरकार बन्यो भने ठीकै छ त । बनेन भनेपनि चुनाव नै उपयुक्त विकल्प हो । चुनावमा जानुपर्ने बाध्यता हुनसक्छ । त्यसका लागि तयार हुनुपर्छ’, देउवाले भन्नुभयो ।

प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दलहरुलाई निर्वाचनमा जानका लागि आग्रह गर्दै आउनु भएको छ । तर, माओवादी केन्द्र निर्वाचनमा जान डराएकाले राजनीतिक अस्थिरता कायमै रहेको छ । माओवादी न त सरकारलाई साथ दिएको छ न त दिएको समर्थन फिर्ता लिन सकेको छ । सरकारले कि पूर्ण साथ दिन नभए समर्थन फिर्ता लिन पटक पटक आग्रह गरेपनि सो दलले मानेको छैन । यद्यपी आफ्ना दलबाट मन्त्रीपरिषद्मा सहभागीहरुको नाम भने सांसदबाट हटाएको छ । तर, सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन ।