जनता टाइम्स

२९ चैत्र २०७७, आईतवार १७:३०

प्रधानमन्त्रीको निर्देशनपछि डढेलो निभाउन हेलिकप्टर प्रयोग


काठमाडौं, चैत्र २९

नागार्जुन जंगलमा बिहानदेखि भीषण डढेलो लागेको छ । डढेलो निभाउने प्रयास जारी रहेको र पहिलेको भन्दा नियन्त्रणमा आएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि डढेलो निभाउन भएका विमान र हेलिकप्टर प्रयोग गर्न सकिने भए गर्न निर्देशन दिनु भएको थियो । त्यसपछि नागार्जुनको डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरिएको हो ।

डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारी लगायत पनि खटिएका छन् । जंगलको डढेलो निभाउन सेनाको दमकलका साथै हेलिकप्टरको प्रयोग गरिएको हो ।

सैनिक मुख्यालयका अनुसार सेनाका तीनवटा दमकल डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा रहेको छ । स्थानीयका अनुसार आइतबार बिहानदेखि डढेलो लागेको हो । माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर सर्दै छ । डढेलो नियन्त्रणको प्रयास जारी छ ।