जनता टाइम्स

३० चैत्र २०७७, सोमबार २२:०१

राष्ट्रिय जनमोर्चा भन्छ : मुख्यमन्त्रीमा गुरुङ बाहेकलाई समर्थन दिइदैन


पोखरा, चैत्र ३०

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन कायमै राख्ने भएको छ । राजनीतिक स्थिरताको पक्षमा आफुहरु रहेको भन्दै गठबन्धन बनाएर नयाँ सरकार बनाउने पक्षमा आफुहरु नरहेको स्पष्ट पारेको हो ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन कायमै रहेको बताउनु भयो । ‘हामी स्थायित्वको पक्षमा छौं, भैरहेको सरकार ढालेर स्थायित्व आउदैन’ थापाले भन्नुभयो, ‘हामीले पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन कायमै छ ।’

उहाले सरकारमा नै नजाने पार्टीको नीति भएकाले जे को अफर गरे पनि आफूहरु नलोभिने प्रतिक्रिया दिनुभयो । जनमोर्चालाई मुख्यमन्त्रीको अफर गरिएको खबरहरु आईरहेका बेला उहाको यस्तो जवाफ आएको हो । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारी भन्नेहरुले विगतको आफ्नो इतिहास हेर्ने पनि आग्रह गर्नुभयो ।