जनता टाइम्स

३१ चैत्र २०७७, मंगलवार १५:४५

समर्थन फिर्ता नलिइ सरकारविरुद्ध नारा लगाउनुको औचित्य छैन : मन्त्री रायमाझी


रुपन्देही, चैत ३१

ऊर्जामन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताउनुभएको छ । गृहजिल्ला अर्घाखाँचीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै अर्थ छ ? छैन ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री केपी ओलीको विरोध गर्नु प्रचण्डको राजनीतिक विचलन भएको पनि उहाँले सुनाउनुभयो । नेता रायमाझीले प्रचण्डले जनताले चुनेर दिएको आफ्नो पद खोसेर जनादेशको अपमान गरेको पनि आरोप लगाउनुभयो ।

माओवादी केन्द्रलगायतका अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म ओली सरकार रहिरहने बताउँदै मन्त्री रायमाझीले सरकार ५ वर्षसम्म रहिरहने बताउनुभयो । प्रचण्डले देशलाई अस्थिरतातर्फ लैजानका लागि विभिन्न शक्ति केन्द्र धाएर विभिन्न चलखेल गरे पनि त्यो सपना पूरा गर्न नसक्ने बताउँदै उहाँले जनताको म्यानडेट लिन यही सरकारले चुनाव गराउने दाबी गर्नुभयो ।