जनता टाइम्स

१ बैशाख २०७८, बुधबार १९:४३

शताब्दी पुरुष सत्यमोहन जोशी निवासबाट सञ्चारमन्त्री गुरुङको उदघोष : सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ


काठमाडौं, बैशाख १ । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको उदघोष गर्नुभएको छ । ललितपुरस्थित शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा बुधबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो उदघोष गर्नुभएको हो ।

मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धेकेलिएकाले मुलुक दिशाविहीन हुने हो कि भन्ने चिन्ता रहेको धारणा पनि राख्नुभयो । वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको प्रष्ट पार्नुभयो । सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई मृत्युपश्चात नभई जीवित छँदै सम्झिनुपर्नेमा जोड दिनुभयो । महानगरपालिकाले ज्येष्ठ नागरिकको हकमा विभिन्न कार्य गर्दै आएको उहाँले बताउनुभयो । यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकको सहज जीवनका लागि सबै निकायको प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो । सो अवसरमा मन्त्री गुरुङ, नगरप्रमुख महर्जन र वाङमय शताब्दी पुरुष जोशीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गर्नुभएको थियो ।

सञ्चारमन्त्री गुरुङबाट जोशीलाई मायाको चिनो समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा बुधबार ललितपुरस्थित शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा आयोजित कार्यक्रममा जोशीलाई मायाको चिनो प्रदान गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ । तस्बिर : रोशन सापकोटा/रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा ललितपुरस्थित शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा बुधबार आयोजित कार्यक्रममा जोशीलाई सम्मान गर्दै । तस्बिर : रोशन सापकोटा, रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषद्वारा ललितपुरस्थित शताब्दी पुरुष सत्यमोहन जोशीको निवासमा बुधबार आयोजित कार्यक्रममा जोशीलाई सम्मान गर्दै । तस्बिर : रोशन सापकोटा रासस