जनता टाइम्स

२ बैशाख २०७८, बिहीबार २०:३८

केन्द्र सरकार हल्लाउन नसकेपछि प्रदेशमा झर्यो माओवादी : मुख्यमन्त्री गुरुङ


पोखरा, बैशाख २

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विपक्षी दलहरु केन्द्रमा सरकार हल्लाउन नसकेपछि प्रदेशमा झरेको टिप्पणी गर्नुभएको छ । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै एकजुट हुँदा पनि नसकेपछि काठमाडौंमा रहेका माओवादी लगायत विपक्षी दलका शीर्ष नेताले त्यसको रिस पोखरा आएर आफूमाथि पोख्न खोजेको टिप्पणी गर्नुभएको हो ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव पेश गरेपछि विहिवार सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले कुनै कारणबिना केन्द्रको राजनीतिको रिस प्रदेशममा पोख्न खोजिएको बताउनु भयो । उहाले आफूविरुद्धको अविश्वास प्रस्तावलाई प्रतिगमनको संज्ञा पनि दिनुभयो । ‘काठमाडौंमा रिसाएको बिरालोले पोखरामा आएर खाँबो चिथोरेको जस्तै हो । केन्द्रको राजनीति यता नगरौं । हटाउने भए संघीय सरकार नै हटाए भयो त । म केपी ओलीको नजिक भएँ भन्दैमा हटाउने रे । नजिक त एकजनासँग भइन्छ नि’, उहाको भनाई थियो ।

मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावलाई आफूले स्वभाविक रुपमा लिएको भन्दै त्यसलाई पास गरेर देखाउन विपक्षी गठबन्धनलाई चुनौति दिनुभयो ।