जनता टाइम्स

४ बैशाख २०७८, शनिबार १३:४०

बिकाश होइन, बिनाशकै बाटोमा उभिए सभामुख


काठमाडौं, बैशाख ४ । सभामुख अग्निप्रसाद सापकोटा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको आदेशपालक बनेर समृद्धि अभियानबिरुद्ध उभिएको तथ्य बाहिर आएको छ । प्रधानमन्त्री केपी ओलीले आजको सर्वदलीय बैठकमा सभामुख सापकोटाको अवरोधबारे तथ्य खोल्दै समृद्धि अभियानको बाधक बनेको जानकारी गराउनु भएको हो ।

सभामुख सापकोटाले सभामुखमा निर्वाचित भएलगत्तै आफू संबिधान भन्दा प्रचण्डको आदेशलाई माथि राख्ने बताउनु भएको थियो । तात्कालिन नेकपाभित्रको बिवाद बढेपछि प्रचण्ड र माधव नेपालसामू सभामुख सापकोटाले प्रचण्डको आदेशबिना संसदमा सिन्कोसम्म भाँच्न नदिने अठोट गर्नुभएको हो । त्यसयता सभामुख सापकोटाले लगातार सरकारको काममा अवरोध गर्दै आउनु भएको तथ्य आज बालुवाटारमा डाकिएको ‘सर्वदलीय बैठक’मा प्रधानमन्त्री ओलीले राख्नुभयो । सभामुख सापकोटाले आफूलाई काम गर्न नदिएको फेहरिस्त सुनाउने क्रममा प्रधानमन्त्री ओली आक्रोशितसमेत देखिनुभयो ।

प्रधानमन्त्री ओलीका अनुसार सभामुख सापकोटाले संबैधानिक मर्यादा भन्दा बाहिर गएर अराजक, अनैतिक र असंवैधानिक काम गरिरहनु भएको छ । ‘मैले एमसिसी पेश गर्न खोज्दा दिनुभएन भन्दै सभामुखप्रति उहाँले निकै आक्रोश पोख्नुभयो,’ बैठकमा सहभागी राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भन्नुभयो । बैठकमा नेपाली कांग्रेसले भने एमसिसी चाँडो पास गर्न माग गरेको छ ।

कोरोना भाइरस नियन्त्रणसहितको बिषयमा छलफल गर्न आज प्रधानमन्त्री ओलीले बोलाउनु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बहिष्कार गर्नुभएको छ । बिगतमा नेकपा एक रहँदा पनि प्रचण्डले कोरोनासहित जनसरोकारको बिषयमा छलफल गर्न बैठक बोलाउँदा बहिष्कार गर्दै आउनु भएको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी हुनुभएको छ । आजको बैठकमा प्धानमन्त्री ओलीले कोरोना जोखिम नियन्त्रणसँगै स्थानीय तह र प्रतिनिधिसभामा खाली रहेको क्षेत्रमा उपनिर्वाचन गर्ने बिषयमा दलहरुको धारणा माग्नुभएको छ ।